-
BAT NO 32 जानकी समूह रसुवा केरुङ्ग
देश दर्शनको क्रममा नेपाल चिनको सिमा नाका केरुङ्ग रसुवा ।
-
Staff Collage BAT Mate Friends
स्टाप कलेज तालिममा साथीहरुसँग
-
SMC Student Council
SMC Student Council को संयोजन पद हस्तान्तरण पश्चात
-
Tsomogo Lake Sikkim
TSOMGO Lake ३७५३ मिटर उचाइमा अवस्थित छोंगो ताल सिक्किम
-
रारा ताल मुगु
स्वर्गको अप्सरा मानिने रारा तालको छेउमा
फ्लाइट नम्बर ४०४
घट्टेकुलोका साँघुरा गल्लीहरुमा हिड्दा हिड्दै सोच्छु। आरक्षण भन्ने जिनिस नहुँदो हो त के हुन्थ्यो! एकछिन गम खान्छु। अनि आफैलाई उत्तर दिन्छु, ‘ब्याट नम्बर ३२ को अधिकृत हुन्थेँ।’
अफसोच् त्यसो भएन। पुछार तिर वैकल्पिक परेँ। मेरो अधिकृत हुने कोटा काठमाडौँको आलिसान बंगलामा हुर्केकाहरुले हडपे। हो, मलाई यस्तै लाग्छ। बेला-बेला दाह्रा किट्छु। फेरि एकछिनमा आफै शान्त हुन्छु। स्याङ्जाका बाँदर लड्ने भीरमा खनी खोस्री हुर्काएर सरकारी जागिरे बनाउने बा-आमाको सपना अधुरै रहने भयो। साँझपख चुरोटको धुँवासँगै निरासाको भाव प्रकट गर्छु।
यसरी आफैसँग मुर्मुरिदै बस्न थालेको २ वर्षपछि बैकल्पिकबाट अधिकृत छैठौं सिफरिस भएको खबर पाएँ। खबर सुन्न साथ पूरै घट्टेकुलो फन्का मारेँ। अनामनगरको लोकसेवा कार्यालय गएँ। संघतिरका सुब्बासापले नियुक्ति नलिएर मेरो कल्याण गरिदिए छन्। उनका लागि त्यो जागिर केही थिएन होला। तर मलाई भने सारा संसार थियो।
गाउँमा बाआमालाई छोरो अझै जागिर लागेन भनेर छिमेकीले मुटु छेड्ने वचन लगाउँथे। त्यही वचन परास्त गर्ने सुदर्शन चक्र थियो। जे होस् त्यो जागिर सबथोक थियो।
अपराजिता
बबरमहल अफिसको चौथोँ तलाबाट सिंहदरबारको दक्षिणी भागतर्फ हेर्दे टोलाइरहेको थिएँ। फोनको घन्टी बज्यो, तेस्रो घन्टीपछि पकेटबाट फोन झिकेर हेरेँ। सेभ नभएको नम्बर रहेछ।
एकदमै नजिकका यारीदोस्तीहरुको नम्बर सेभ नगर्ने मेरो पुरानै बानी हो। कतै कुनै चिनेजानेकै साथी हो कि मैले सम्झने प्रयास गरेँ, अहँ! सम्झन सकिन।
हेलो भनेर फोन उठाए। उताबाट आवाज आएन । फेरि हेलो भनेँ, अहँ फेरि पनि आवाज आएन। तेस्रो पटकमा मलिन स्वरमा आवाज आयो, 'क्षितिज चिन्यौ?'
मैले आवाज ठम्याउने प्रयास गरेँ। एकछिन गमेर स्वर चिन्ने कोशिस गरेँ। त्यसपछि मलाई आफ्नो पुरानै अन्दाजमा भन्न मन लागेको थियो। कसरी बिर्सनु सक्छु यो आवाजलाई तर भनिनँ। यत्ति भने 'चिने नि अपराजिता।'
'कहा छौँ, अफिस?' उसले सोधी।
क्यामेरा अगाडि बेचिएको आत्मसम्मान
‘सामाजिक संजाल’ र ‘भाइरल’ शब्द पर्याबाची जस्तै भएर आएका छन्। संजालले दिनानुदिन नयाँ-नयाँ विषयवस्तु र घटना खोज्छ जो सजिलै भाइरल होस्। जुन घटना वा विषयवस्तुले मानिसको हृदयमा बसेर आँखाबाट आँसु छचल्काओस्। अनि त्यही आँसुसँगै भावुक भएर सहयोगी मनहरुको खल्तिबाट सहजै द्रव्य झरोस्।
केही दिन पहिले पिठ्युमा छोरो बोकेर रिक्सा चलाउँदै गरेको एक युवकको फोटो सामाजिक संजालमा भाइरल भयो। महिलाको काख र पिठ्युमा मात्र छोराछोरी देख्ने बानी परेको र त्यसैलाई मात्र स्वभाविक ठान्ने नेपाली समाजले बाको पिठ्युमा बच्चा देखिनुलाई अस्वाभाविक ठान्यो। आश्चर्यजनक मान्यो। सबैले भावुक हुँदै ती बाबुप्रति सहानुभूति दर्शाउन थाले। बच्चा आमाको ममताबाट बञ्चित भएकोमा दुःख मनाउ गर्नेहरुको ठूलो जमात देखा पर्यो।
फोटो भाइरल भएको चौबिस घण्टा पनि नबित्दै युट्यूबरले ती युवकलाई खोजी छोडे। चल्तीका युट्यूबरले रिक्सा अगाडि बाबु छोरालाई राखेर अन्तर्वाता लिए। ती युवकका बाबु छोरालाई संसारकै दिनहीन र दुःखी देखाउन कुनै कसुर बाँकी राखेनन्। आमाको निर्दयीपनामाथि असभ्य तरिकाले टिकाटिप्पणी गरे। तिनका दुःखलाई पहाड बनाएर प्रस्तुत गरे।
काण्ड र भ्यूअरको पछि पर्ने अधिकांश युट्यूबरलाई कसैको पारिवारिक अवस्था, सामाजिक मर्यादा र व्यक्तिगत आत्मसम्मानसँग सरोकार हुने कुरै भएन। क्यामेरा अगाडि सहयोग गर्न आएको ठानेर युवक हौंसिए। उनले आफ्नो नितान्त व्यक्तिगत पाटोका अमूल्य कुराहरुको लिलाम बढाबढ गराएजस्तै गरी क्यामेरा अगाडि बोले।
अधुरो शतक
गाउँको रने स्कुलमा राजेश भनेर चिनिन्थ्यो। सरहरुले राजेश तिरुवा भन्थे। लामो कपाललाई टाउकोको बीचबाट दायाँबायाँ पारेर चिटिक्कसँग मिलाएको थियो, उसले।
पहाडबाट तराइ झरेपछि मैले पहिलोपल्ट त्यस्तो कपाल देखेको थिएँ। कति विद्यार्थीहरुले पछाडिको तिरुवा थर हटाएर हमाल जोड्थे। अनि भन्थे, ‘के छ राजेश हमाल?’
उ नाम सुनेर मुसुक्क हास्थ्यो। टाउको मात्र हल्लाउथ्यो र नबोली जान्थ्यो। ‘लामो कपाल छ भन्दैमा आफूलाई राजेश हमाल नै ठान्छ,’ उ गैसकेपछि एउटा बोल्यो।
‘थोपडा हेरन, थोपडा,’ अर्कोले थप्यो।
‘गरिबोका राजेश हमाल।’
‘फिल्मै खेलिहाल्यो भने राजेश हमाल त त्यस्तै हो, राजेन्द्र खड्गीको वाला रोल पाउँला कि।’
‘कहाँ विदेशबाट डिग्री पास राजेश हमाल, कहाँ ८ कक्षामा २ पल्ट फेल रने।’
स्कुल पछाडिको अग्लो ढिस्कोमा बसेर अधिकांशले यसरी नै गिल्ला गर्थे उसको। रनेलाई पिठ्यु पछाडि गरिने यस्ता खिसीसँग कुनै मतलब थिएन।
हरिया डाँडाकाँडा र घुमाउरो कर्णाली नदी। अग्लो थुम्कोबाट हेरुरहँ लाग्ने बिहानको सूर्योदय। उत्तरतिरका सेताम्मे हिमाल। हिउँदमा विमानस्थलको रनवे नै ढाकिने गरि पर्ने कमल बजारको हिउँ।
पहाडको यस्तै मनोरम प्रकृतिसँग रमाएर हुर्केको थिएँ म। उजाड र फुस्रो खरले छाएका वस्ती। आर्सेनिक मिसिएको ह्वास्स गन्ध आउने नलको पानी। पहिरोले उजाड हुँदै गएको चुरे। उखरमाउलो गर्मी।
हो, तराई यस्तै थियो। ठ्याक्कै, मेरो घर पर त्यो गल्लीको एउटा चोकमा छ, यहाँ के छैन सबथोक छ भन्ने भूपीको कविताको अंश जस्तै लाग्थ्यो। तर, यी सबै कुरालाई बिर्साउने एउटा अचम्मको प्रविधि थियो, तराईमा। टेलिभिजन र त्यसमा देखाइने फिल्म।
लकडाउन नोस्टाल्जिया
आर्यघाटमा एउटा शव जल्नै आँटेको छ। उ शव जलाउन तम्तयार चितातर्फ एकनासले हेरिरहेको छ। लास पोल्ने मानिस बाहेक त्यो चिताको वरिपरि कोही देखिदैंन। सायद बेवारिसे हो कि?
बेवारिसे शव राखिएको चिताबाट ध्यान मोडेर उ अर्को चितातिर हेर्छ। त्यो चिताको वरिपरि शोकाकुल आफन्त र शुभचिन्तकको घुँइचो छ। शवमाथि फूल र खादाहरु राखिएको छ। अटेसमटेस मानिसहरुले शवलाई घेरिरहेका छन्। उ ती मलामी आएका मानिसहरुको अनुहारमा देखिने भाव पढ्न खोज्छ।
‘राम्रो मानिस थिए।’
‘कति छिट्टै यो संसारबाट बिदा भए।’
‘राम्रो मानिसलाई लिन यमराजलाई पनि कति हतार हो?’
अधिकांशको भावभंगीले यस्तै भनिरहेको भान हुन्छ। आरती हेर्न आएका अधिकांशले बेलाबेला पुलुक्क पुलुक्क त्यतै हेर्छन। उसको ध्यान फेरी बेवारिसे जलिरहेको लासतिर पर्छ। वरपरका सबै मान्छेतिर चियाउँछ। अहँ! त्यतातिर कसैको ध्यान छैन। त्यहाँ केबल जलिरहेको लास छ। न, फूलमाला न शोकाकुल मानिसहरु।
‘साँच्चै, बेवारिसे लास भएको मान्छे के गर्थ्यो होला?’
‘कहाँको हो?’
अरु सबले उसको साथ छोडिसकेका रहेछन्। अथवा उसको साथमा थिएनन् कि? उ चितामा जल्यो। वरिपरि कोही भएनन्। यत्रो सहरमा उसको मृत्युमा शोक मनाउने कोही छैन। उसको नाम्लो बागमतीको ढलमा मिसिदै कहाँसम्म पुग्ने हो कसैलाई थाहा छैन। उ एकतमासले दुवै चितातिर बरोबर नजर डुलाइरहेको छ।