लकडाउन नोस्टाल्जिया

 आर्यघाटमा एउटा शव जल्नै आँटेको छ। उ शव जलाउन तम्तयार चितातर्फ एकनासले हेरिरहेको छ। लास पोल्ने मानिस बाहेक त्यो चिताको वरिपरि कोही देखिदैंन। सायद बेवारिसे हो कि?

बेवारिसे शव राखिएको चिताबाट ध्यान मोडेर उ अर्को चितातिर हेर्छ। त्यो चिताको वरिपरि शोकाकुल आफन्त र शुभचिन्तकको घुँइचो छ। शवमाथि फूल र खादाहरु राखिएको छ। अटेसमटेस मानिसहरुले शवलाई घेरिरहेका छन्। उ ती मलामी आएका मानिसहरुको अनुहारमा देखिने भाव पढ्न खोज्छ।

‘राम्रो मानिस थिए।’

‘कति छिट्टै यो संसारबाट बिदा भए।’

‘राम्रो मानिसलाई लिन यमराजलाई पनि कति हतार हो?’

अधिकांशको भावभंगीले यस्तै भनिरहेको भान हुन्छ। आरती हेर्न आएका अधिकांशले बेलाबेला पुलुक्क पुलुक्क त्यतै हेर्छन। उसको ध्यान फेरी बेवारिसे जलिरहेको लासतिर पर्छ। वरपरका सबै मान्छेतिर चियाउँछ। अहँ! त्यतातिर कसैको ध्यान छैन। त्यहाँ केबल जलिरहेको लास छ। न, फूलमाला न शोकाकुल मानिसहरु।

‘साँच्चै, बेवारिसे लास भएको मान्छे के गर्थ्यो होला?’

‘कहाँको हो?’

‘परिवार, आफन्त र साथीभाइलाई उसको मृत्युको अवगत भयो होला कि नाई?’ उसले मनमा अनेकौं तर्कना गरिरहन्छ। लास जलिसक्दा नसक्दै अन्तिममा एउटा नाम्लोलाई बागमतीमा बगाइन्छ। अब पक्का भयो। अनुमान गरिरहनु परेन। त्यो भरियाको लास थियो। जोसँग अन्तिम समयमा पनि साथ नछोड्ने एउटा नाम्लो मात्र रहेछ।

अरु सबले उसको साथ छोडिसकेका रहेछन्। अथवा उसको साथमा थिएनन् कि? उ चितामा जल्यो। वरिपरि कोही भएनन्। यत्रो सहरमा उसको मृत्युमा शोक मनाउने कोही छैन। उसको नाम्लो बागमतीको ढलमा मिसिदै कहाँसम्म पुग्ने हो कसैलाई थाहा छैन। उ एकतमासले दुवै चितातिर बरोबर नजर डुलाइरहेको छ।

भीडभाड भएको शवतिरका दुई जना अलि वर उ नजिकै आए। विस्तारै कुरा गर्न थाले।

एउटाले भन्यो, ‘हेर्नु न दैवको लिला, कति छिट्टै!’

अर्कोले थप्यो, ‘सहसचिव बढुवाको ३५ दिने सूचना पर्खेर बसेका थिए।’

‘त्यहि त भन्या, हप्ता दिन मात्र बाँकी थियो, यस्तो भयो।’

‘गृहका राम्रै क्याडर थिए, तराईतिर सिडिओ भएर जाने पक्कापक्की थियो।’

‘सरकारकै लाइनका मान्छे थिए।’

‘गै त हाले।’

उनीहरु विस्तारै कुरा गर्दै थिए। आरती सुरु हुनै लागेको थियो। सबै आरती हेर्न र सुन्न आतुर जस्तै भएर बस्ने ठाउँ खोज्दै थिए। आर्यघाटमा यस्ता लासहरु जलिरहन्छन्। फरक यत्ति हो, कतै मृतकको वरिपरि ठूलो भीडभाड हुन्छ। जहाँ मृतकका शोकाकुल परिवार, आफन्त र शुभचिन्तकले यो संसार छोड्नुको पीडा र दुःख जताइरहेका हुन्छन्। कतै चाहिँ मृतक एक्लै हुन्छ। आर्यघाटबाट उ सेतोपुल छेउको कोठा फर्कियो। आर्यघाटको त्यो दृश्यलाई उसले बिर्सर्दै गयो।

चैत्रको दोश्रो हप्ता नलाग्दै कोरोनाले सारा देश ठप्प जस्तै भयो। कलेज र स्कुलहरु विस्तारै बन्द हुन थाले। लकडाउन सुरु हुनै लाग्यो। वरपर डेरामा बस्नेहरु बिस्तारै घरतिर लागे। कहिल्यै काठमान्डौँ नछोड्ने उसको घरबेटी पनि पुर्ख्यौली घरतिर लागे।

‘भाइ चाहिँ घर नजाने?’, जानुभन्दा पहिले घरबेटीले सोधे।

‘काठमान्डौँभन्दा बढी सुरक्षित कहाँ छ र दाइ?’ उसले उल्टै घरबेटीलाई प्रतिप्रश्न सहितको जवाफ फर्कायो।

‘ल त्यसो भने घर सबै भाइको जिम्मा।’

यति भन्दै घरबेटीले गेटको चाबी दिएर हिँडे।

एका बिहानै कलेज जाने। क्यान्टिनको सस्तो खानाले पेट भर्ने। हतार-हतार अफिस दौडिने। साँझपख फुर्सदमा फेसबुक र ट्वीटर तिर झुम्मिने। दिनहुँका व्यंग्य मिश्रित फेसबुक स्टाटस, त्यसमा गरिने हा! हा! रियाक्ट, फोटो पोष्ट, लाइक र कमेन्ट। ट्वीट, मेन्सन, डिएम, च्याट। अफिसबाट तलब आएको दिन सहरको ठूलो र अग्लो भवनमा रहेको क्याफेमा बसेर गरिने कफि गफ। राति अबेरसम्म कोठाको झ्यालमा बसेर वर्षौ पुराना गीतहरु सुन्ने। उसको नियमित दैनिकी जस्तै भएको थियो।

उ अब त्यो घरमा एक्लै भयो। आखिरमा उ जाओस् पनि कहाँ? यो डेरा बाहेक उसको घर कहाँ हो? उसैलाई थाहा छैन। उसले थाहा पाउने कोशिस नै गरेको छैन। जागिर, कलेज, एकाध साथीहरु र सामाजिक संजाल। उसको संसार भनेकै यही त हो। उसलाई लाग्छ सारा संसार यही छ। भनौं योभन्दा पर उसको केही पनि छैन। बस जीन्दगीको रथ चलेकै छ। गम्भिरतापूर्वक लिएर आफैलाई किन दुखी बनाउनु। उसलाई यस्तै लाग्छ।

काठमान्डौँमा कहिले पनि यस्तो सान्नटा छाएको थिएन। दशै तिहारमा पनि उ यही सहरमा हुन्थ्यो। तैपनि एक किसिमको रमझम भैरहन्थ्यो। लकडाउनकै बीचमा एकदिन अचानक उ बिरामी पर्यो। कोरोना पो हो कि? खासै मिल्ने लक्षण थिएन।

बेडरुमबाट किचन छिरेर तातो पानी पनि उमालेर पिउँने सामर्थ्य उसमा रहेन। बिरामीले उसको शरीर थकित र गलित भइसकेको थियो। एक्लोपन हुनुको पीडा जीवनमा पहिलो पटक महशुस गर्यो। कोठामा पो एक्लै हो त संजालमा त संसार छ नि। उसले फेसबुकमा बिरामी भएको स्टाटस राख्यो। अधिकांशले गेट वेल सुन लेख्दै कमेन्ट गरे।

लकडाउनको फुर्सिदिलो समयमा पनि कसैले के भएको भनेर इन्बक्समा सोधिरहनु जरुरी ठानेन। तीन शब्दको शुभेच्छामै सबैले औपचारिकता पूरा गरे।

हप्ता दिन हुन थालिसक्यो। अहँ! उ ओच्छ्यानबाट राम्ररी उठ्न सकेको छैन। बिमारले अलि बढी नै च्याप्न थाल्यो। सन्चो हुने गुन्जायस देखिएन। विस्तारै बाँच्ने अभिलाषा हराउँदै गयो। उसले केही दिन अगाडि आर्यघाटको बेवारिसे जलिरहेको लासलाई सम्झ्यो। बिराम सन्चो नभए एक दिन बेवारिसे लासजस्तै एक्लै जल्ने पालो उसको आउँनेछ। उसले मन मनै सोच्यो।

अन्तिम श्वास लिन आँटेको झैँ उसलाई आभाष भयो। जसोतसो उसले झ्यालबाट चियाएर बाहिर तिर हेर्न खोज्यो। काठमान्डौँको आकाश यति राम्ररी त कहिले पनि खुलेको थिएन। उसले खुलेको आकाश तिर हेर्दा हेर्दै बिर्सिसकेको अतीत सम्झ्यो। धुमिल हुँदै गइरहेको स्मृतिबाट उसले आफ्नो पुराना दिनहरु सम्झ्यो।

उसलाई गाडी हेर्ने ठूलो रहर थियो। आमालाई गाडी देखाउनु भनेर जिद्दी गरिरहन्थ्यो। देहातको गाउँबाट आमाले चुरेको सबैभन्दा अग्लो डाँडा तिर देखाउँदै भनिन्।

‘उ त्यो देखिने डाँडाको तलतिर राजमार्ग छ। त्यता गाडी गुडिरहन्छन्। जान्छस्?’

उ फुरुंग भयो। उसले जाने इच्छा व्यक्त गर्यो। त्यसको पछिल्लो दिन आमा छोरा देहातको गाउँबाट त्यो अग्लो डाँडा भएको ठाउँतिर लागे।

बाटोमा उ नयाँ-नयाँ गाउँ हेर्दै गयो। गाउँ सकेर जंगलको बाटो लागेपछि एउटा सिधा र फराकिलो बाटो आयो।

आमैले भनिन्, ‘यो बाटोलाई फार लाइन भन्छन्।’

त्यही बाटोमा उसले पहिलो पटक बिजुलीका लामा-लामा तार पनि देखेको थियो। साँच्चै त्यो बाटोलाई किन फार लाइन भन्छन्? अलि अलि अंग्रेजी जानेको भरमा उसले अनुमान लगायो। ‘फार’ भनेको टाढा ‘लाइन’ भनेको तार। टाढासम्म बिजुलीको तार तानेको भएर फार लाइन भनेको होला। उसले मनमनै सोच्यो। खासमा त्यो फोरलेनको बाटो थियो। गाउँलेले उच्चारण गर्न नजानेर फार लाइन बनेको थियो। उसलाई के थाहा?

आमैले उसलाई राजमार्गको छेउमै बसाएर भनिन्,

‘म दाउरा खोज्न जान्छु। त यतै बसेर गाडी आएको गएको हेर्दै गर ल।’

उ थपक्क राजमार्ग छेउ बसेर गाडी आउने प्रतिक्षा गरिरह्यो। केही समयपछि एउटा सार्वजनिक बस हुइँकिदै हावाको बेगसँगै पश्चिमतिर लाग्यो। उसले पहिलो पटक बस देख्यो। गाडी देख्यो। केही बेरपछि फेरि ठूलो चारचक्के ट्रक देखियो। उबाट केही पर पुगेर रोकियो। ड्राइभर र खलासी उत्रिएर अलि परको झाडी तिर लागे।

उ दौडिदै रोखिराखेको ट्रक छेउ पुग्यो। ट्रकको अगाडि-पछाडि राम्रोसँग हेर्यो। पइयाहरु यसमा त अघिको बसभन्दा धेरै पैयाँहरु रहेछन्। ठूलो पनि रहेछ। उसले मनमनै सोच्यो।

उसको नजिक पुगेको ड्राइभरले एकछिन घुरेर हरिसकेपछि बोल्यो, ‘के हेरेको ए फुच्चे?’

नचिनेको मान्छे भएर होला केही उत्तर नदिएर उसले ट्रक तिरै हेरिरह्यो।

फेरि ड्राइभरले सोध्यो, ‘ट्रकमा खले बन्ने हो?’

खले भनेको के हो? उसलाई के थाहा? उसले मात्र ट्रक तिरै एकनासले पहिलोपटक कुनै नयाँ वस्तु देखेझै गरि हेरिरह्यो।

त्यत्तिकैमा खलासीले भन्यो, ‘सानै छ सक्ला र?’

‘एक दुई महिना तँसँगै राखेर सिकाए सकिहाल्छ नि।’

ड्राइभरले फेरि उ तिर हेर्यो।

उसले मसिनो स्वरमा भन्यो, ‘आमालाई छोडेर जान्न।’

‘उ परसम्म जाने हो।’

‘ठूलो पुल छ।’

‘माछा पनि पाइन्छ। खाएर फर्किहाल्ने हो।’

‘साँझ फर्केपछि आमासँगै घर गइहाल्छस् नि।’

उसले डर मिश्रित भावभंगीमा स्वीकृति जनायो।

ड्राइभरले भनेजस्तै, ठूलो पुल आयो।

उसले पहिलोपटक त्यस्तो पूल देखेको थियो। कति लामो हो। पूलको बीच्चमा अग्लो पिलर। त्यही पिलरले पुल धानेको। यस्तो पुल त उसले जीवनमा पहिलोपल्ट हो देखेको। पिलरको माथिबाट लामा-लामा डोरीहरु। डोरीको बीचमा ठूला-ठूला भकुण्डोजस्तो गोला डल्लै डल्लाहरु।

उसले माछा पनि खायो। पछि आमासँगै घर फर्कदा उ यो सबै सुनाउने छ। गाउँमा कुलरिया नदीमाथिको कल्भर्टमा साँझपख सबै साथीहरुसामु लामो पुल देखेको धाक लगाउने छ। उसले देखेको अग्लो पूलको वर्णन गर्नेछ।

तर उसले आमालाई भेट्न पाएन। साथीहरुलाई धाक लगाउने उसको रहर अधुरै रह्यो। ड्राइभरले गाडी मोडेन। बरु पुल तरेर निकुञ्जको बाटो हुँदै गाडी पूर्व तिर हुइक्यायो। उ गाडीमै निदायो। बिहानपख बिउँझदा बालबालिका सम्बन्धी काम गर्ने संस्थाका मानिससँगै थियो। यो बीचमा के भयो। उसलाई केही पनि थाहा छैन।

बिउँझने बित्तिकै उसको मुखबाट एउटा शब्द निस्क्यो ‘आमा’। उसलाई सोधिएको थियो, घर कहाँ हो? ड्राइभरले कुन ठाउँबाट ल्याएको हो। अहँ उसले केही पनि जवाफ दिन सकेन।

संस्थामै बसेर पढ्दा-पढ्दै जागिर गर्न थालेसी उसले संस्था छोड्यो। डेरा खोजेर एक्लै बस्न थाल्यो। आज वर्षौपछि काठमान्डौँको डेरामा बिरामी भएर छट्पटाइरहँदा उसले बिस्मृतिमा धुमिल हुँदै गरेको पुराना दिनहरु अलिअलि गरि सम्झन सक्यो।

सानो छँदा पनि उ यसैगरी एकदिन बिरामी भएको थियो। आमैले पिठ्यूमा बोकेर पल्लो गाउँमा अहेबसँग जचाउँन लएकि थिइन्। दाइले रातभरी नसुतेर पानी लगाएर उसको छेउमा बसिरह्यो। सानी बहिनीले दाइ छिट्टै सन्चो भएको भए भन्ने भावमा उ तिर हेरिरहेकी थिई।

ठ्याक्कै १९ औं दिनमा जसोतसो उ तंग्रियो। बिरामी नहुनु अघि उसले सोचेको थियो। सामाजिक संजाल र काठमान्डौँको चारभञ्ज्याङ् भित्र नै सारा संसार छ। यो सहरमा उसको सबै चिज छ। योभन्दा बाहिरको संसारसँग उसलाई कुनै सरोकार छैन। तर यो सहरले के सोचेको रहेछ। अहँ! केही पनि सोचेकै रहेनछ। यो सहरले त उसको अस्तित्वसँग कहिल्यै कुनै सरोकार नै राखेको रहनेछ।

त्यही साँझ उसले फेसबुक र ट्विटर एकाउन्ट सदाको लागि डिलिट गर्यो। उसले अब हाइसन्चो मान्यो।

दिनहरु सामान्य बित्दै थिए। उ पुनः आफ्नो नियमित दैनिकीमा फर्किन थालेको थियो। एकरात उसलाई निन्द्राले फिटिक्कै छोएन। खाटमा एक्लै एक्लै छटपटाइरह्यो। रातको १ बज्दासम्म पनि मनमा अनगिन्ति कुरा खेलाइरह्यो।

खै के सम्झियो कुन्नि, अचानक पल्टिरहेको बेडबाट जुरुक्क उठ्यो। बत्ति बाल्यो। र्या‍कबाट डायरी र कलम झिक्यो। अनि विस्मृत हुनै लागेका कुराहरुलाई अचानक सम्झिएर क्रमैसँग लेख्यो,

‘एउटा मात्रै पिलर भएको ठूलो पूल’

‘माछा पाइने होटल’

‘फारलाइनको बाटो हुँदै पुगिने उसको घर’

‘घरबाट अलिपर पानी जमि रहने खल्लाको उसको खेत’

विस्तारै उसले अरु पनि सम्झदै गयो।

‘झमक्क साँझ पर्दा पनि पसिनाले निथ्रुक्क भिजेर एक्लै रोपाइ गर्दै गरेकी आमा’

‘धार भुत्ते भएको फरुवाले चेप्टो माटो तान्दै गह्राका आलि मिलाइरहेको दाइ’

‘डिलमा बसेर दिनभरी दुध खान नपाएर भोकले रोइरहेकी सानी बहिनी’

‘परदेश गएका बा’

उसले यति सम्झन सक्यो।

अरु पनि कोही छन् कि। निकैबेरसम्म सम्झने प्रयास गर्‍यो। अहँ! सम्झन सकेन। मानौं, उसले यी बाहेक अब सम्झिरहनु पर्ने मानिसको जरुरत देखेन।

आखिरमा उ कहाँबाट आएको हो। अलि अलि गर्दे उसले ठाउँ ठम्यायो। लकडाउनले उसलाई बिर्सिसकेका अनुहारहरु सम्झायो। त्यो रात उ ननिदाइकन बस्यो।

पछिल्लो दिन एकाबिहानै ल्यापटपमा गीत सुन्दै सामान मिलाउन थाल्यो। फोन भाइब्रेट भयो। उसको साथि अनुपको फोन रै छ।

उसले फोन उठायो। उताबाट साथीले अलि हकारे झै गरि बोल्यो,

‘के ताल हो? न फेसबुक न ट्वीटर, ग्रुप च्याट कतै होइन। सब तिर गायव। कुन दुनियाँँमा छस?’

उसले हाँस्दै जवाफ फर्कायो ‘आफ्नै दुनियाँमा।’

‘त्यस्तो नि हुन्छ?’

‘झट्ट फेसबुक एक्टिभ गर?’

‘स्टाटसमा हा! हा! रियाक्ट गर्न नपाएको कति भैसक्यो।’

‘अझ ग्रुप च्याटमा तेरा ननभेज जोक सुन्न नपाएर....’

साथीले एकोहोरो सुनाइरह्यो। उसले केही भनेन। मात्र सुनिरह्यो।

‘त बुझ के दुनियाँ कस्तो छ?’

फोन राख्ने बेलामा फेरि साथीले भन्यो, ‘अलिकति बुझ्ने कोशिस गर यार, यो दुनियाँलाई।’

उसले फेरि पनि केही जवाफ फर्काएन। एकोहोरो सबै कुरा सुनिरह्यो।

फोन राखिसकेपछि झ्यालको पर्दा खोलेर बाहिर तिर हेर्यो। एकोहोरो टोलाइरह्यो। अनि साथीले फोनमा भनेको अन्तिम वाक्य सम्झ्यो।

‘बुझ्ने कोशिस गर यार यो दुनियाँलाई’

यता उसको ल्यापटपमा मधुर स्वरमा मोहम्मद रफिको गीत बजिरहेको थियो,

तुम्हारी हैं तुम ही संभालो ये दुनियाँ,

मेरे सामने से हटा लो ये दुनियाँ,

यें दुनियाँ अगर मिल भी जाये तो क्या हैं...


याे लेख सेताेपाटीमा प्रकाशित भएकाे हाे

Share:

Search This Blog

Popular Posts

Labels

Recent Posts

Pages