क्यामेरा अगाडि बेचिएको आत्मसम्मान

 ‘सामाजिक संजाल’ र ‘भाइरल’ शब्द पर्याबाची जस्तै भएर आएका छन्। संजालले दिनानुदिन नयाँ-नयाँ विषयवस्तु र घटना खोज्छ जो सजिलै भाइरल होस्। जुन घटना वा विषयवस्तुले मानिसको हृदयमा बसेर आँखाबाट आँसु छचल्काओस्। अनि त्यही आँसुसँगै भावुक भएर सहयोगी मनहरुको खल्तिबाट सहजै द्रव्य झरोस्।

केही दिन पहिले पिठ्युमा छोरो बोकेर रिक्सा चलाउँदै गरेको एक युवकको फोटो सामाजिक संजालमा भाइरल भयो। महिलाको काख र पिठ्युमा मात्र छोराछोरी देख्ने बानी परेको र त्यसैलाई मात्र स्वभाविक ठान्ने नेपाली समाजले बाको पिठ्युमा बच्चा देखिनुलाई अस्वाभाविक ठान्यो। आश्चर्यजनक मान्यो। सबैले भावुक हुँदै ती बाबुप्रति सहानुभूति दर्शाउन थाले। बच्चा आमाको ममताबाट बञ्चित भएकोमा दुःख मनाउ गर्नेहरुको ठूलो जमात देखा पर्यो।

फोटो भाइरल भएको चौबिस घण्टा पनि नबित्दै युट्यूबरले ती युवकलाई खोजी छोडे। चल्तीका युट्यूबरले रिक्सा अगाडि बाबु छोरालाई राखेर अन्तर्वाता लिए। ती युवकका बाबु छोरालाई संसारकै दिनहीन र दुःखी देखाउन कुनै कसुर बाँकी राखेनन्। आमाको निर्दयीपनामाथि असभ्य तरिकाले टिकाटिप्पणी गरे। तिनका दुःखलाई पहाड बनाएर प्रस्तुत गरे।

काण्ड र भ्यूअरको पछि पर्ने अधिकांश युट्यूबरलाई कसैको पारिवारिक अवस्था, सामाजिक मर्यादा र व्यक्तिगत आत्मसम्मानसँग सरोकार हुने कुरै भएन। क्यामेरा अगाडि सहयोग गर्न आएको ठानेर युवक हौंसिए। उनले आफ्नो नितान्त व्यक्तिगत पाटोका अमूल्य कुराहरुको लिलाम बढाबढ गराएजस्तै गरी क्यामेरा अगाडि बोले।

एउटा पुरुषले महिलालाई कमजोर देखाउने सबैभन्दा सरल अस्त्र भनेको उसको चरित्रमाथि धावा बोल्नु हो। मानिसलाई सजिलै र सहजै विश्वास गराउन युवकले श्रीमतीको चरित्रमाथि वचनवाण दागे। श्रीमतीको जतिसुकै गल्ती किन नहोस। क्यामेरा अगाडि देखिने रहर र केही हजारको सहयोगको लागि आफ्नै श्रीमतिको चरित्रहत्या गर्न मानिसहरु कसरी सक्छन् होला?

एक/दुई दिनमै सानो छोरोको लागि हजारौं रकम सहयोग आयो। लाखौँ कमाउने युट्यूबरले बच्चाको भविष्यको खातिर केही हजारका नोटका बिटा दिने भए। हजारका नोट दिनु अगाडि युट्यूबरले कसम खुवाए, ‘तपाईले रक्सी खान्न भन्ने वाचा गर्नुस।’ अनि युवकले कर्के नजरले युट्यूबरका हातमा रहेको रकम तिर आँखा लगाउँदै हेरे। त्यो कसम नखाए पैसा नपाइने हो कि भन्ने मनोबलले काम गर्यो। युवकले सहजै कसम खाए।

के युट्यूबरले खुवाएको कसम, आफ्ना थुप्रै सपना बन्धकी राखेर सडकमा मजदुरी गरेर छोरो हुर्काइरहेका बामाथि गरिएको अपमान थिएन र? उनको संघर्षप्रति भद्दा मजाक थिएन र? के साच्चै बच्चाको भविष्यको चिन्ता युवा अवस्थामा नै सारा जीन्दगी छोराकै लागि अर्पण गर्ने प्रण गरेका पितालाई भन्दा युट्यूबरलाई छ?

ती युट्यूबर र हामी धेरैलाई लागेको छ। अब छोरोको भविष्य बन्ने निश्चित छ। आखिरमा पैसा र त्यसबाट प्राप्त हुने भौतिक सुख सुविधाले छोरा छोरीको भविष्य बन्ने ग्यारेन्टि हुने भए। छोराछोरी असल नै हुने भए। नेपालमा सायदै गणतन्त्र आउने थियो।


जब भीडले निर्णय गर्छ, सोझै फैसला गर्छ, सत्य निम्छरो भएर लुप्त हुन खोज्छ। भीडले फैसला गरिसक्यो। युवक सही छन्। उनकी श्रीमती गलत। यसको विपरित अभिव्यक्ति दिनु अरिंगालको गालो चलाउनु सरह हो। तर पनि एउटी आमाले काखको छोरोलाई चटक्क छोडेर हिड्नुमा उनको मात्र गल्ति देखाउन मनले मानेन।

युवकले एकतर्फी भनेका सबै कुरा विश्वास गर्न सकिएन। काखको बच्चा छोडेर जाने आमालाई अलिकति शंकाको सुविधा दिएर वशीर भद्रको यो शेर सम्झे,

कुछ तो मजबूरियाँ रही होंगी,

यूँ कोई बेवफा नहीं होता।

पिठ्युमाथि छोरो बोकेर मजदुरी गर्न मजबुर हुने ती युवक पहिलो व्यक्ति होइनन्। त्यस्ता धेरै बाबुहरु छन् जसले वात्सल्य प्रेमले छोराछोरी हुर्काएका छन्। दुःखको पाटो र परिमाण केही फरक होला। अनि बाले छोडेका तर आमाले मजदुरीसँगै काख र पिठ्युमा हुर्काएर बढेका नेपालीको संख्याको के हिसाब?

नेपाली समाजले यस्ता आमाहरुको हिसाब राख्नु जरुरी ठान्दैन। आमाको काखमा रहने बित्तिकै कुनै बच्चाले पाउनु पर्ने ममता र मायाको अभाव हुन्न भनेर होला। आमाको काखमा देखिने बच्चालाई बाबुले छोडेर गएका हुन्/होइनन् भन्ने कुराको प्रमाण यो समाजले खोज्नु जरुरी ठान्दैन।

सायद, आमाको काख र पिठ्यु संसारको सबैभन्दा सुरक्षित र सुविधायुक्त स्थान मानिन्छ होला। जसको उपस्थितिमा बच्चालाई अन्य कुनै भौतिक सुख सुविधाको आवश्यक्ता पर्दैन। उ कसैको दया मायाको पात्र बन्नु पर्ने अवस्था आउदैन। त्यही भरोसामा आज लाखौँ बाबुहरु छोराछोरीलाई आमाको काखमा छोडेर खाडीमा मजदुरी गर्दैछन्।

रियालिटी सोको टीआरपी पथ

देशको कुना काप्चामा लुकेर रहेका गायन क्षेत्रका प्रतिभा खोज्ने एउटा रियालिटी सो आयो। कार्यक्रमको विशुद्ध मक्सद भनेको प्रतिभावानहरुलाई प्लेटफर्म दिने भन्ने थियो।। करोडौंमा किनिएको अन्तर्राष्ट्रियस्तरको फ्रेन्चाइज सो थियो। तर जब कार्यक्रम टेलिकास्ट भयो। प्रतिभा होइन, चटकजस्तै लाग्ने प्रस्तुति समेत देखाइयो।

हजारौँले अडिसन दिनेहरुको भीडमा प्रतिभाको गुन्जायस नदिने बेसुरा आवाजको चटकी जस्तो लाग्ने प्रस्तुतीलाई स्थान दिनुको कारण के होला? स्पष्ट छ, हामी त्यही हेर्न लालायित छौँ। त्यस्ता प्रस्तुती संजालमा ट्रोल र मिम बनेर छिट्टै भाइरल हुन्छन्। मिम र ट्रोलको सहायताले कार्यक्रमको टिआरपी बढ्छ। भ्युअर बढ्छ। अनि विज्ञापनदाता।

एउटा करोडौंको फ्रेन्चाइज सो त्यति कमजोर धरातलमा उभिएको छ कि, संजालमा एकाध व्यक्तिको ट्रोल र मिम बनेपछि मात्र त्यो कार्यक्रम हिटको दर्जामा आउँछ। त्यो स्तरको कार्यक्रममा बेसुरा आवाजको व्यक्तिलाई स्थान दिएर ट्रोल र मिम बनाउने वातावरण तयार गर्न सञ्चालकहरुलाई के ले प्रेरित गर्यो?

प्रस्तुती दिन आउने प्रतियोगीले आफ्नो प्रस्तुती र त्यसले संजालमा पर्ने असरको मूल्यांकन गर्न स्वयंम प्रतियोगीले सकेनन्। के तपाईले पनि त्यही कसीमा सोच्नु भएको हो? संजालमा भाइरल र ट्रोल भएसँगै ती व्यक्ति युट्यूबरका लागि मसाला बने। आफू मात्र युट्यूबमा देखिएनन्, श्रीमती र छोराको दिनहीन अनुहार युटुबमा देखाए। आफू श्रीमती र छोराका लागि केही गर्न नसकको निम्छरो बाउ बनेकोमा दुःख मनाउ गरे। बदलामा केही हजार बोकेर उनी पुःन घर फर्के।

प्रतिभा र चटकबीचको फरक भनेको यही त होला? रवि ओड र रचना रिमालका लागि सम्भावनाको ढोका खुलेको सांगितक क्षेत्रमा उनी अट्न सकेनन्। अचेल पश्चिम तराईको सहरमा अटो चलाएर जहान परिवार पालिरहेको छन्।

आफ्नै गरिबीलाई मजाक बनाएर युट्यूबरका लागि कमाइ खाने भाडो भएको उनलाई पत्तै भएन। जब आफू उपयोग भएको थाहा पाए, श्रीमती र छोरालाई क्यामेरा अगाडि राखेर केही हजारका बिटासँग उनले आफूमा भएको आत्मसम्मान साटफेर गरिसकेका थिए।

उनको छोरो ठूलो भएर युट्यूबरमा आफ्नै भिडियो हेर्दा कस्तो महशुस गर्ला? आफू संसारकै सबैभन्दा कमजोर बनेर दुनियाँको अगाडि सहयोगको याचना गरिरहेका लक्का जवान बाको अनुहार र बोली हेरेर के सोच्ला?

संजालमा छाउन र भाइरल हुन जति सजिलो छ। भाइरल हुने व्यक्तिलाई आम मानिसले सोच्ने दृष्टिकोण र समयक्रममा उनीहरुप्रति गरिने व्यवहारको लेखाजोखाको हिसाब किताब हामीले किन गर्न सकेका छैनौँ?

पीएचडीधारीको क्यामेरा मोह

सक्षम जनशक्तिको रुपमा दरिने पीएचडीको उपाधी प्राप्त गरेको व्यक्तिले सोध, अनुसन्धान र विद्यार्थीहरुलाई मार्गदर्शन गर्नुपर्ने हो। राज्यको नीति निर्माणमा योगदान दिनुपर्ने हो। तर जब पीएचडी धारीले पनि भाइरल हुने सरल उपाय खोज्न थाल्छ।

तर जब क्यामेरा अगाडि देखिन खोज्ने रहर र लहडले पछ्याउछ। अब उ आत्ममुग्धतामा रमाउन थाल्छ। हरेक दिन हरेक युट्यूबरको भ्यूअर बढाउने चक्करमा लाग्छ। न्यूनतम मर्यादा बिर्सेर युट्यूबरले सोध्ने हरेक प्रश्नको अन्टसन्ट उत्तर दिनै पर्ने बाध्यता आइलाग्छ।

बजारलाई चाहिने विषयवस्तुको अगाडि उसले वर्षौ गरेको अध्ययन अनुसन्धान र उसँग भएको बौद्धिकताको कुनै महत्व हुँदैन। परिणामतः तिनै युट्यूबरबाट सहयोगको लागि पठाएको पैसा हिनामिना गरेको भन्ने आरोपमा क्यामेरा अगाडि पिटाइ खाएर बेहोस भएको नाटक गर्नुपर्ने अवस्था आउँछ। पीएचडिीधारीको त्यो हदसम्मको स्खलनलाई बौद्धिक समाजले कसरी मूल्यांकन गर्ला?

युट्यूबरको उपयोगितावाद

अचेल अधिकांश यटुबरसँग सम्बन्ध गाँस्नु भनेको सिंहमाथिको सवारीजस्तै भएको छ। सुरुआतमा तपाईको दुःख देखाएर प्रशंसाको तुरुपले तपाईलाई भाइरल र चर्चित बनाउँछन्। जब उनीहरुको लागि काम नआउने हुनुहुन्छ। तपाईलाई लज्जित र व्यक्तिगत जीन्दगी तहसनहस हुने अवस्थासम्म पुर्याउन पछि पर्दैनन्।

झाडीमा भेटिएको बच्चा लालनपालनको जिम्मा लिएकोमा एकजना महिलालाई देवी बनाएर देखाइयो। आज तिनै महिलाको कमजोरी र गल्ती खोजेर क्यामेरा अगाडि आफैले सहयोग स्वरुप दिएको पैसा फिर्ता लिदै गरेको हेर्नै अप्ठ्यारो लाग्ने दृश्य देखाउँदै छन्।

के कुनै सभ्य मानिसले आफूले दिएको दानको विषयमा चर्चा गर्छ र? आफूले दिएको दान र सहयोग दिएको रकम फिर्ता लिएको घृणित र लजाउने दृश्य क्यमेरामा देखाउने हर्कत गर्ला र? ती महिलाबाट भएको गल्ती र अपराधमा सजाय दिने न्यायप्रणालीलाई हातमा लिएर न्यायाधीश बन्दै क्यामेरा तेर्साएर फैसला गर्दै भ्युअर बढाउने घृणित कार्य गर्न पछि परेका छैनन्।

युट्यूबरको उपयोगितावादको सिद्धान्तको गतिलो उदाहरण, ती महिलालाई उनीहरुले गरेको घुणित व्यवहारको ट्रेन्डिङ् भिडियो हेरे पुग्छ।

अन्त्यमा,

क्यामेरा अगाडि देखिने रहर जाग्नु एक हिसाबले ठिकै होला। तर जब रहरका लागि तपाई आफूलाई दुःखी र कमजोर देखाउनुहुन्छ। प्रतिभाको नाममा चटके बनेर आउनुहुन्छ, त्यही दिनबाट तपाईको व्यक्तिगत जीन्दगीको मजाक बनाएर पैसा बटुल्न बानी परिरहेकाहरुको चंगुलमा पर्ने चक्रको सुरुआत हुन्छ।

युट्यूबरले तपाईलाई पछ्याउन्। तर, तपाईको दुःख देखाउन हैन। तपाईले दुःख र संघर्ष गर्दागर्दै सफल भएको कथा देखाउन्। त्यो दिन तपाईले जीवनमा सफल हुन गरेको संघर्ष र दुःखको कथा बेच्नुहोला, न कि तपाईको स्वाभिमान। शुभकामना!!!


याे लेख सेताेपाटीमा प्रकाशित भएकाे हाे

Share:

Search This Blog

Popular Posts

Labels

Recent Posts

Pages