फ्लाइट नम्बर ४०४

 घट्टेकुलोका साँघुरा गल्लीहरुमा हिड्दा हिड्दै सोच्छु। आरक्षण भन्ने जिनिस नहुँदो हो त के हुन्थ्यो! एकछिन गम खान्छु। अनि आफैलाई उत्तर दिन्छु, ‘ब्याट नम्बर ३२ को अधिकृत हुन्थेँ।’

अफसोच् त्यसो भएन। पुछार तिर वैकल्पिक परेँ। मेरो अधिकृत हुने कोटा काठमाडौँको आलिसान बंगलामा हुर्केकाहरुले हडपे। हो, मलाई यस्तै लाग्छ। बेला-बेला दाह्रा किट्छु। फेरि एकछिनमा आफै शान्त हुन्छु। स्याङ्जाका बाँदर लड्ने भीरमा खनी खोस्री हुर्काएर सरकारी जागिरे बनाउने बा-आमाको सपना अधुरै रहने भयो। साँझपख चुरोटको धुँवासँगै निरासाको भाव प्रकट गर्छु।

यसरी आफैसँग मुर्मुरिदै बस्न थालेको २ वर्षपछि बैकल्पिकबाट अधिकृत छैठौं सिफरिस भएको खबर पाएँ। खबर सुन्न साथ पूरै घट्टेकुलो फन्का मारेँ। अनामनगरको लोकसेवा कार्यालय गएँ। संघतिरका सुब्बासापले नियुक्ति नलिएर मेरो कल्याण गरिदिए छन्। उनका लागि त्यो जागिर केही थिएन होला। तर मलाई भने सारा संसार थियो।

गाउँमा बाआमालाई छोरो अझै जागिर लागेन भनेर छिमेकीले मुटु छेड्ने वचन लगाउँथे। त्यही वचन परास्त गर्ने सुदर्शन चक्र थियो। जे होस् त्यो जागिर सबथोक थियो।

लोकसेवाले दिएको सिफारिसपत्र बुझेँ। विस्तारै हातमा लिएँ। एकछिन सुम्सुम्याए, छातीमा टाँसे र नाम लेखिएको सिफारिसपत्रको भागमा ओठ नजिक लिएर चुमेँ। जीवनमा सर्वश्रेष्ठ वस्तु चुमेको आभाष भयो। त्यो चुम्बनले एक अनौठो तरंग सिर्जना गरे झै महशुस भयो। प्रेमिल जोडिले रोमान्टिक मुडमा गरेको चुम्बनजस्तै।

कार्यक्षेत्र जानुपर्ने भयो। पथरैया गाउँपालिका, कैलाली। जीन्दगीमा पहिलोपल्ट जहाजको टिकट लिएँ। अघि पछि जसो घर जाँदा थोत्रा बसको विद्यार्थी छुटमा टिकट लिन्थेँ। अन्तिम सिटमा घर जाने मेरो लागि त्यो बिल्कुल नयाँ अनुभव थियो। जहाजको टिकट लिने बेला अनायसै सोचेँ। साँच्चै, जहाजमा अगाडिको सिट रोज्न पाइन्छ होला कि नाई? बसमा जस्तै मलाई त भमिट हुन्छ भन्दै झ्यालको सिट हत्याउने हुन्छन् होला कि नाई?

कोठा पुगेपछि वाइफाइ अन गरेँ। युट्यूब खोलेँ। अनि सर्च गरे फर्स्ट टाइम फ्लाइट जर्नि टिप्स। ३ पल्ट हेरेँ। सिटबेल्ट बाँध्ने तरिकाको रिहर्सल पेटी लगाउँदै खोल्दै गरेर सिकेँ।

तोकिएकै समयमा विमानस्थल पुगेँ। फ्लाइट नं. ४०४ बाट धनगढी प्रस्थान हुने यात्रुलाई बोलाईयो। हवाइजहाजभित्र बस्ने सिट खोजे। जसो तसो सिट बेल्ट बाँधिसकेपछि छेउतिरको यात्रीसँग नजर जुध्यो। हामीले एक अर्कालाई हेर्यौँ। मैले उसको हेराइलाई एकटकले नियालेँ।

उसले आँखी भौं तन्काएर निधार खुम्चाई। देब्रेतिरको गालामा अलिकति डिम्पल देखयो। ओठ अलिकति खुले। अलिकति दाँत देखाइ र सँगै मुस्कुराइ। प्रतिउत्तरमा म पनि मुस्कुराए।। दुवैमा अलिकति संकोच र उकुसमुकस जस्तो भया। हवाइजहाज भित्रको अरु कुराको हेक्का राखिनँ। हामी दुवैको हेराइले भनिरहेको थियो। यहाँ पनि!

असार महिना बाहिर पानी परिरहेको थियो। वर्षातको झरी हेरीरहन मन लाग्थ्यो। मैले कोठाको दक्षिणपट्टिको झ्याल खोलेँ। ठ्याक्कै पल्लो घरको झ्याल तिर मेरो नजर पर्यो। त्यो गर्ल्स होस्टेल थियो। त्यही झ्यालसँगै जोडिएको बेडमाथि सानो स्टडी टेबुल थियो। टेबुलमा मुन्टो निहुँराएर पढिरहेको अवस्थामा पहिलो पटक देखेको थिएँ उसलाई।

कहिलेकाही साँझपख बाहिरको बार्दलीमा आमने सामने हुन्थ्यौँ। तर आफ्नै लयमा। हामी दुवैका औँलाहरु मोबाइलका किबोर्ड तिर सोझिएका हुन्थे। आँखाहरु स्क्रिन तिर।

गोरो लाम्चो परेको अनुहार थियो, उसको। तर छेउतिरका दुई वटा दाँत भने ओठ खुल्ने बित्तिकै प्रथम दृष्टिमा देखिन्थे। टिकटक चलाउने भए सायद टिकटक क्विन नै हुने थिइ कि? मैले मनमनै उसका दाँतको बिल्ला गरेको थिएँ।

होस्टेलका प्लसटु र ब्याचलर पढ्ने केटीहरु जस्तो कलिलो उमेर थिएन उसको। सायद मास्टर्स पढ्दै होली, मैले यस्तै अनुमान गरेको थिएँ। रात परेपछि उसँगै बस्ने केटीहरु झ्यालमा बसेर गितारसँगै रमाउँथे। उसले पनि साथ दिए झै लाग्थ्यो। म झ्याल खोलेर नजानिदो तरिकाले उनीहरुतिर नजर डुलाउँथे।

उनीहरु त भन्नु मात्रै हो, उ तिरै। त्यसपछि त हरेक साँझ उसको झ्याल तिर नजर डुलाउने दैनिकी जस्तै भएको थियो। अचानक उसले होस्टेल छोडी। तर मेरा नजरहरु झ्याल तिर परिरहन्थे।

अचानक माघ महिनाको पहिलो हप्ता लाग्दा नलाग्दै उ फेरि त्यही कोठामा देखिएकी थिइ। म आफ्नै जीन्दगीको उल्झनमा थिएँ। त्यसैले यसपाली मलाई उ देखिनु र नदेखिनुले मलाई कुनै प्रभाव पारेन।

यता जहाजले भुइँ छोड्नै आँटेको आभाष दिलायो। उसको बसाइको संगतीले भन्थ्यो। उ पहिले पनि जहाज चढेकी हो। हाउभाउले यस्तै संकेत गर्थ्यो। उसँगैको बसाइले मनमा अनेकौँ तर्कना खेलिरहेको थियो। खै किन किन मलाई लागिरहेको थियो, जहाजभरी उ र म मात्र छौँ। मात्र उ र म।

विमानले जति-जति उचाइ लिन्थ्यो। मेरो मुटुको ढुकढुकीको तीव्रता बढिरहेको थियो। एउटा विन्दुमा पुगेपछि जहाजले उचाइ लिन छोड्यो। यता मेरो मुटुको धड्कनको तीव्रताको दरमा कुनै स्थिरता देखिएन।

पहिलो पटक हवाइजहाज चढेको मलाई त्यसै-त्यसै उकुसमुकुस भैरहेको थियो। एउटा अनौठो बचपनाले सताइरह्यो। उसँगै हुनुको उत्सुकता, चञ्चलता त थियो नै, छटपटाहट पनि उत्तिकै थियो। जहाजले आधि दूरी तय गरिसक्दा पनि एक अनौठो ब्याकुलता मनमा खेलिरह्यो।

हामी बीचको मौनतालाई मैले क्रमभंग गरेँ। त्यो क्रमभंगताले मैले उसँग कुरा गर्न सर्वनाम मात्र प्रयोग गरिरहनु परेन। बेलाबेला कुराकानीमा अनुपमा जि भनेर नामले पुकार्न सक्ने भएँ। घर टीकापुर रैछ। एमपिए दोश्रो वर्षको परीक्षा दिन आएकी रे।

के गर्नुहुन्छ? भन्ने मरो प्रश्नको जवाफ दिनु अघि एकछिन रोकिएर हाँस्दै जवाफ दिई, ‘फुलटाइम बेरोजगार।’ फेरि हाँस्दै त्यही प्रश्न उसले म तिर फर्काइ।

अरुले मैदान खाली गरिदिएको जागिर खान जाँदैछु भन्न जाँगर चलेन। त्यही जागिर देखाएर आफ्नो अभिमान बढाउन मनले मानेन।

‘हजुरकै पथमा छु।’ यत्ति भनेर विषयान्तर गरेँ।

‘धनगढी चाँहि किन?’ उसले प्रश्न गरी।

लौ अब के भनेर ढाट्नु। सोच्दा सोच्दै फ्याट्ट जवाफ दिएँ,

‘यति राम्रा मुन्छेहरु भएको ठाम कस्तो रच भनेर हेर्न जान लाको।’

उसले मेरो उत्तरमा थप सवाल जवाफ गरिन। तर दाँत कटक्क बाँधेर तल्लो ओठलाई अगाडि ल्याएर निधार खुम्चाई। उसको अनुहारको भावले मेरो गिल्ला गर्न खोजेको प्रष्ट हुन्थ्यो। मानौँ उसले भनिरहेकी छ, ‘हेर न स्याङ्जालीका गफ।’

हवाइजहाजले पार गर्ने दूरी र समय निश्चित थियो। तर पनि खै किन किन लागिरहको थियो। यो यात्राको कहिल्यै अन्त्य नहोस्। करोडौं माइलको दूरी वर्षौसम्म साथ साथै गर्न पाइयोस्। कल्पनाशीलताको उच्चतम बिन्दुमा पुग्दा पुग्दै म रोकिन्थेँ। उ चुपचाप बसिरहेकी थिइ।

सायद बदलिरहने गुण भएकोले नै मौसम धेरै कुराहरुको विशेषण वा उदाहरणको लागि तयार भएको होला। जहाज चढ्नु अघि काठमाडौंको मौसम नियालेको थिएँ। माघ महिना सकिनै लागेर फाल्गुनको आगमन हुने दिन नजिकिदै थिए। काठमाडौंको मौसम सफा र मनमहोक देखिन्थ्यो।

आधी बाटो पुग्दा-नपुग्दै मौसम खराबीका अवस्था देखिन थाल्यो। जहाज हल्लिएर केहि तल झर्यो। सुनसान रहेका अधिकांश यात्रुहरुले डरको भाव देखाउन थाले। जहाजको गडबडीको सम्बन्ध हाम्रो जिजीविषासँग थियो। अधिकांशको अनुहारको भावले त्यही बोलिरहेको थियो।

तर उ भने निष्फिक्री थिइ। मानौँ जहाजमा केही भएकै छैन। जहाज र मौसमको त्यो अवस्थाले उसलाई कुनै फरक पर्नेवाला छैन। सायद धेरैपल्ट यसैगरी यात्रा गर्ने बानी परेर पो हो कि? मैले अलिकति कर्के नजर लगाएर उ तिर हेरेँ। उसको मनस्थिति ख्याल गर्ने प्रयास गरेँ। उसमा कुनै परिवर्तन देखिएन। उ पुरानै अवस्थामा थिइ।

यता म भने डरले त्यसै-त्यसै खङ्ग्रंङ भएको थिएँ। डर लुकाउन जतिसुकै प्रयास गरेपनि उसले थाहा पाइहाली। पहिलो चोटी विमान चढेको हो भन्ने कुरामा उ प्रष्ट भई।

अनि गिज्याएझै गरी भनी, ‘ढुक्क हुनुस्, हाम्रो सुदूरपश्चिम नपुगी तपाइलाई केही हुन्न।’

‘यस्तो हुनसक्छ भन्ने जान्दा जान्दै जहाज चढेको होइन?’

‘किन डराएको त? उ फेरि बोलि। ‘जुन कुरा आफ्नो बसमा छैन किन चिन्ता लिइराख्नु।’

उसको यस्तै प्रश्नका झटारोहरु नसकिदै मौसम सफा हुन थाल्यो। जहाज जसोतसो धनगढी एयरपोर्टमा आइपुग्यो। जहाजबाट झरेसी रोकिएको श्वासप्रश्वास सुरु भएझै लाग्यो मलाई। मनमनै सोचेँ- सरकारी तलब नखाइ त के मरिएला र?

जहाजबाट ओर्लने बेला म प्रति दयाभाव देखाउँदै उ बोलि, ‘हाम्रो सुन्दर ठाम घुम्न आएकालाई केही समस्या परे खबर पाम्।’ उसले र मैले मोबाइल नम्बर साटासाट गर्यौं। विमानस्थलबाट झरेर म लगेजको प्रतिक्षामा थिएँ। उसँग ह्याण्ड क्यारी ब्याग मात्र थियो। त्यसैले उ विमानस्थल बाहिर पुगिसकेकी थिइ। सायद मलाई पर्खेकी होली। मलाई त्यस्तै लाग्यो।

बा धनगढीकै प्रदेश मन्त्रालयमा उपसचिव होइसिन्छ। उसले अघि जहाजमा भनेको कुरा सम्झिएँ। अनि मनमनै भने, ‘बा सरकारी जागिरे भए तीन पुस्तेलाई पुग्ने रैछ।’ उसका बाले गाडी पठाइदिएको जस्तो लाग्यो। म बाहिर पुग्दा उ भने सेतो नम्बर प्लेटको स्कारपियो चढिसकेकी थिइ।

जाने बेला जान्छु नै नभनेरै गई। हुन त असारे झरीमै अनुपमाले मेरो हृदयमा सुटुक्क आफ्नो लागि स्थान बनाइसकेकी थिइ। जहाजको यात्रापछि उप्रतिको प्रेमको तिब्रतर अंकुरण हुन थालेका महशुस भयो। उ निकै सुन्दर लाग्न थाली। यसभन्दा पहिले मैले कसैलाई पनि सुन्दरताको कसीमा राखेर नियाल्ने प्रयास गरेको थिइनँ। यसो भनौँ, मसँगको सामिप्यता वा चिनजानकाहरुलाई मैले त्यसरी हेर्ने प्रयत्न नै गरेको रहेनछु।

उ साँच्चै सुन्दर हो वा उसँगको नजिकपनले मलाई त्यो आभाष दिलाएको हो। मैले ठम्याउन सकेको थिइनँ। तर उ के सोच्दि हो मेरो बारेमा। सायद केही पनि सोच्दिन क्यारे। त्यसैले त जान्छु नभनेरै उ हिँडि।

अप्ठ्यारो पर्दा सम्झनु है भनेकी उसले जान्छु पनि नभनेरै गइ। मेरो अलिकति चित्त दुखाई थियो। होस्, म कार्यक्षेत्र तिर लागे। टीकापुरसँगै जोडिएको रहेछ गाउँपालिका। मलाई पछि थाहा भो। धनगढीबाट टीकापुर आएँ। साँझपख एक्लै टीकापुर पार्क तिर घुमेर फर्केँ। राति भाइबरमा रिसाएको छु है भन्ने आशयको म्यासेज छोडेँ।

बिहानीपख रिप्लाई फर्काई, ‘घुम्न आको मान्छेलाई डिस्टर्ब नगरुम् भनेर।’

‘है’ भनेर मैले जवाफ नफर्काउदै उसले अर्को प्रश्न गरी ‘कता-कता घुम्नु भो नि?’

‘मुन्छेहरुकै सहरबाट सुरु गरे नि।’ भन्दै टीकापूर पार्क घुमेको फोटो पठाएँ।

‘आबुई! धनगढीबाट सिधैँ टीकापुर। भन्नुपर्छ नि सँगै आउने थिम्।’

मैले इमोजीले कुरा टारेँ। उसले बुझी होली। एयरपोर्टमै छोडेर जानेका कुरा मैले पत्याइदिनु पर्ने। इमोजीको भाव त्यस्तै थियो।

‘आज चाहिँ कता जाने?’

मलाई आपत पर्यो। जाने त अफिस हो। नयाँ ठाममा कता जाने भन्नु। फसाद पर्यो। अचानक आइडिया फुर्यो। गुगलमा घुम्न लायक ठाम खोजेँ। अनि जवाफ फर्काएँ, ‘कर्णाली जाने’

‘एक्लै।’ उसले गिज्याझै गरी इमोजीसहित म्यासेज ठेली।

‘फूलटाइम बेरोजगारलाई लिएर जान मन थियो। वचन खेर फाल्न मन नलागेर भनिनँ।’, मैले जवाफ फर्काए।

‘नभनेरै त किन जानु हौ?’

‘अब जाम भने नि। आखिर फुलटाइम बेरोजगारहरुले बसेर के नै गर्नु छ र?’

मेरो आग्रहपूर्ण म्यासेजमा अलिक बे पछि उसले रिप्लाई फर्काई, ‘अलिक काम छ १ बजेपछि ल।’

‘मैले मुन्छेहरुसँग एउटा कुरा कन्फेस गर्नु छ।’ मैले कुराकानीको अन्त्यमा भनेँ।

उसले उत्सुक हुँदै रिप्लाई फर्काइ, ‘के रैछ अहिले नै सुनम् न।’

‘भेटेरै भन्ने।’

‘मलाई पनि केही भन्नु छ।’ उसले जवाफ फर्काइ।

मलाई फसाद पर्यो। आखिर के होला? उसले भन्न चाहेको कुरा। मलाई खुल्दुली लागिरह्यो। अलिक बेरमा अनुमान गरेँ। प्रेम, विवाह वा अरु केही।

शुक्रबार, सरकारी पोसाकको झन्झट रहेन। जिन्स र टिसर्ट लगाएँ। अफिसको पहिलो दिन साथै अनुपमासँगको भेट जो थियो। भ्यालेन्टाइन डे नजिकै आउन थालेको थियो।

फेसबुक खोल्दा थाहा भयो, आज रोज डे रैछ। गिफ्ट पसलबाट एउटा गुलाफ किनेर अफिस जान अटो चढेँ। अटो चढ्दा चढ्दै सोचेँ। साँच्चै आज अनुपमालाई म के-के भन्नेछु।

‘उसलाई सम्झेर चुरोटको धुँवा उसैको कोठातिर फालेको।’

‘उसका साथीहरुले चुरोटको गन्ध सहन नसकेर आइ हेट स्मोकर भनेको।’ यस्तै कुरा सम्झदै अफिस पुगेँ।

गाउँपालिकाको कार्यालय पुग्दा घडीमा १०ः३० भइसकेको थियो। कैलालीमा चिसो घटिसकेको थिएन। केही कर्मचारी घाम तापिरहेका थिए। कार्यालय सहयोगी रहेछन्। मैले नयाँ कर्मचारी भनेपछि उनीहरुले कार्यालय प्रमुखको कार्यकक्ष देखाए। अलिकति आत्मविश्वास र अदब बोकेर हाकिमसापको कोठा छिर्नै लाग्दा बाहिरपट्टिको नेमप्लेटमा आँखा पर्यो। जसमा लेखिएको थियो-

प्रमुख प्रशासकीय अधिकृत,

अनुपमा जोशी।

(याे कथा  Setopati.com मा प्रकाशित भएकाे हाे)

Share:

Search This Blog

Popular Posts

Labels

Recent Posts

Pages